Join our Channel

कैलाली कारागारमा झडपपछि तनाव, एकको मृत्यु र ४७ घाइते, सुरक्षा बैठक जारी

कैलाली कारागारमा झडपपछि तनाव, एकको मृत्यु र ४७ घाइते, सुरक्षा बैठक जारी

कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको भीषण झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना भन्दा बढी घाइते भएका छन्। कारागार परिसर अहिले पनि तनावग्रस्त अवस्थामा छ र सशस्त्र प्रहरीसहित सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ।

प्रारम्भिक जानकारी अनुसार कैदी सरुवाको विषयलाई लिएर दुई समूहबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। गएराति भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरुको अवस्था बारे विस्तृत विवरण अझै प्राप्त भएको छैन।

जिल्ला प्रशासन कार्यालयमा अहिले चारवटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताएका छन्। हालसम्म सुरक्षा निकायका प्रमुखहरूले थप प्रतिक्रिया दिएका छैनन्।

सेती प्रादेशिक अस्पतालका अनुसार घाइते ४७ जनाको उपचार सुरु गरिएको छ। भीडभाड र सुरक्षात्मक चुनौतीका कारण उनीहरुलाई कोरोनाका बेला प्रयोग भएको बेग्लै कक्षमा राखेर उपचार भइरहेको छ।

यसअघि बिहीबार पनि कारागारमा कैदीबन्दीबीच झडप भएको थियो जसमा ६ जना घाइते भएका थिए। १५० कैदी क्षमताको यस कारागारमा अहिले ७०० भन्दा बढी कैदीबन्दी रहेका छन्, जसले सुरक्षा र व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।

Leave a comment