
आज दिउँसो कोशी र बागमती प्रदेशका केही पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्य स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक सक्रिय भएको छ, जसका कारण देशका धेरै स्थानमा पानी पर्ने स्थिति देखिएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा, तथा बाँकी भू–भागका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर बदली रहने अनुमान छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षा, तथा कोशी, बागमती र मधेश प्रदेशका केही भागमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।