
उत्कृष्ट प्रदर्शनसहित नेपालले अपराजित घरेलु टिम ओमानलाई ३८ रनले पराजित गर्दै टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको शीर्ष स्थानमा उक्लिएको छ।
अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउँदै ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २–२ विकेट झारे। त्यस्तै सन्दीप लामिछानेले १ विकेट लिए।
ओमानका लागि विनायक शुक्लाले १९ बलमा ३२ रन बनाउँदै टोलीलाई स्थिरता दिन खोजे पनि उनले सोमपाल कामीको बलमा गुल्सन झाको हातमा क्याच भए। मोहम्मद नदिमले २५ रन, कप्तान जितेन्द्र सिंहले १४ रन र आर्यन विश्टले ११ रन बनाए।
नेपालको बलियो ब्याटिङ प्रदर्शन
नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको शानदार अर्धशतकीय पारी खेले। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।
कप्तान र उपकप्तान सस्तैमा आउट भएपछि नेपालले मध्यम ओभरमा केही विकेट गुमायो। कुशल मल्ल फेरि पनि ठूलो स्कोर बनाउन असफल रहँदै ७ रनमा आउट भए।
आदिल आलमले १५ बलमा ३ चौकासहित १६ रन बनाएर कुशल भुर्तेलसँग पाँचौं विकेटका लागि ४० रनको साझेदारी गरे।
गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रन थपे भने सोमपाल कामी १ रनमा अविजित रहे।
ओमानका बलर नदिम खानले सर्वाधिक ४ विकेट, सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।
नेपालको उपाधि सम्भावना बलियो
यो जितसँगै नेपालले जारी सुपर सिक्स चरणमा शीर्ष स्थानमा उक्लिएको छ। हालसम्म अपराजित रहेको घरेलु टिम ओमानलाई हराउँदै नेपालको ट्रफी जित्ने सम्भावना अझ बलियो बनेको हो।
अब ओमानले शुक्रबार जापानसँग खेल्नेछ भने नेपालले सामाओसँग अन्तिम खेल खेल्ने छ।
यसअघि यूएईले सामाओलाई हराएपछि नेपाल र ओमान दुवैले २०२६ को टी–२० विश्वकप (भारत र श्रीलंका) का लागि छनोट पक्का गरिसकेका छन्।
अब यो क्षेत्र छनोट समूहबाट १ टिमले मात्रै उपाधि जित्नेछ, जसको दौडमा अहिले नेपाल सबल दावेदार बनेको छ।