
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५ कटहरेस्थित वडाध्यक्षको घरबाट प्रहरीले करिब १ हजार ७४ किलो २ सय ५० ग्राम गाँजा बरामद गरेको छ। अवैध लागूऔषध गाँजासहित ४ जना व्यक्तिहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्।
प्रहरी स्रोतका अनुसार सो गाँजा वडाध्यक्षको घरबाट फेला परेको हो। तर, प्रहरीले वडाध्यक्षको नाम भने गोप्य राखेको छ। घटनामा संलग्न वडाध्यक्षका छोरालाई पक्राउ गरी थप अनुसन्धानका लागि मकवानपुर प्रहरीलाई बुझाइएको जनाइएको छ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले हरिबहादुर, बद्धि बहादुर, अरुण, राजेन्द्रसहित गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घरमा तलासी गर्दा ५४ वटा बोरामा गाँजा फेला पारेको हो।
पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको छ।