Join our Channel

रुपन्देही-३ उपनिर्वाचनमा कुलमान घिसिङको नाम चर्चामा

रुपन्देही-३ उपनिर्वाचनमा कुलमान घिसिङको नाम चर्चामा

रुपन्देही–३ मा मिति कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएपछि दलहरू आ-आफ्नो तयारीमा जुटेका छन्।
सत्तारुढ नेकपा (एमाले) ले पहिले नै उम्मेदवार घोषणा गरिसकेको छ। एमालेबाट खिमलाल भट्टराई उम्मेदवार बन्ने निश्चित भइसकेको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि उपनिर्वाचनमा उम्मेदवार टुंग्याउन छलफलमा छन्।

यता, मधेसकेन्द्रित ७ दलहरूको संघीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचनमा एकीकृत उम्मेदवार तय गर्न छलफलमा जुटेको छ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच उम्मेदवारीको विषयमा विवाद देखिएको छ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी दुबै उम्मेदवारको दाबी गर्दै आएका छन्।
तर, मोर्चाका अन्य पाँच दलले भने सहमतिमा उम्मेदवार तय भए साथ दिने वचन दिइसकेका छन्।

यसैबीच नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पूर्व नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्।
मोर्चाका एक नेताका अनुसार, कुलमान घिसिङको लोकप्रियता र सार्वजनिक छवि राम्रो भएकाले उनको नाम अगाडि सारिएको हो।

तर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने यो सम्भावना नकारेकी छन्।
उनले भनिन्, “कुलमान घिसिङजस्ता व्यक्तित्वप्रति जनआस्था हुनु स्वाभाविक हो। तर, पार्टीमा हालसम्म कुनै औपचारिक छलफल वा निर्णय भएको छैन। यो केवल हल्ला मात्र हो।”

कुलमान निकट स्रोतले पनि अहिले उनी कुनै पनि दलमा संलग्न नरहेको बताएको छ।
स्रोतका अनुसार, कुलमान अहिले ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत विदेश भ्रमणमा छन्।
हाल उनी बहराइनमा छन् र आगामी दिनमा दुबई, ओमन तथा कतारमा रहेका नेपालीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Leave a comment