
आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत् प्राधिकरण (NEA) को नाफा घटेर ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको छ। प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा नाफा ३७.३२ प्रतिशतले घटेको जानकारी दिएका हुन्।
२०८०/८१ मा प्राधिकरणले करअघिको नाफा १४ अर्ब ४७ करोड रुपैयाँ कमाएको थियो भने कर तिरेपछि १० अर्ब ५३ करोड रुपैयाँ नाफा भएको थियो। २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा बेहोरेपछि प्राधिकरण लगातार नाफामा रहे पनि यस वर्ष नाफा घटेको हो।
विद्युत् बिक्री र आम्दानी
प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षभन्दा ८.४६ प्रतिशत बढी हो। अन्य स्रोतसहित कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको शाक्यले बताए।
कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ।
निजी क्षेत्रसँग सहकार्य
हाल निजी क्षेत्रका २०४ आयोजना मार्फत २,९२९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने १४२ आयोजना (४,३०३ मेगावाट) निर्माणाधीन छन्। साथै ४,२०३ मेगावाट क्षमताका १४८ आयोजना विभिन्न चरणमा रहेका छन्।
२०८१/८२ मा मात्र ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ८ प्रवर्द्धकसँग १७० मेगावाटका सौर्य आयोजना खरिद सम्झौता (PPA) भएको छ। हालसम्म निजी प्रवर्द्धकसँग कुल ११,४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ।
उच्च अधिकारीहरूको प्रतिक्रिया
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए। उनले विद्युत् चुहावट न्यूनीकरण, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशनसमेत दिए।
राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाले सबै घरधुरीमा बिजुली पुर्याउनुपर्ने आवश्यकता औंल्याए भने विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण र वितरण प्रणाली अझ सबल बनाउनुपर्ने बताए।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले पीपीए रोक्ने र RCOD म्याद नथप्ने नीतिले सरकारको लक्ष्य प्रभावित हुने चेतावनी दिए।