
भिजिट भिसामा विदेश जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरूको कागजात शंकास्पद देखिए अब विमानस्थलमै फिर्ता (अफलोड) गर्ने मात्र नभई नेपाल प्रहरीमार्फत थप अनुसन्धान गर्ने व्यवस्था मिलाइने भएको छ।
अध्यागमन विभाग र त्रिवि विमानस्थल अध्यागमन कार्यालयले यस्ता यात्रुहरूलाई अबदेखि प्रहरीको जिम्मामा दिने निर्णय गरेको हो।
दोहोरो टिकट रद्द गर्ने गिरोहमाथि अनुसन्धान
भिजिट भिसामा रकम बुझाएर विदेश पठाउने गिरोहले अध्यागमन सुरक्षा जाँच पास गरेलगत्तै यात्रुको फर्कने टिकट रद्द गर्ने गरेको तथ्य उजागर भएपछि यसबारे पनि प्रहरीले अनुसन्धान गर्नेछ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले आइतबार पत्रकार सम्मेलनमार्फत भिजिट भिसा प्रणालीलाई व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउन कडाइ गरिएको जानकारी दिए। उनले अब यात्रुको हुलिया वा सामाजिक हैसियत हेरेर नभई वैध कागजातका आधारमा मात्र प्रस्थान अनुमति दिइने स्पष्ट पारे।
प्रहरी र सरोकारवालासँग सहकार्य
केही दिनअघि विभागले विमानस्थल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, लागू औषध नियन्त्रण ब्युरो र अन्य संघ–संस्थाका प्रतिनिधिसँग छलफल गरेर आवागमन प्रणालीलाई सुरक्षित बनाउने कदम अघि बढाएको थियो।
गिरोहमार्फत हुने असुली धन्दा नियन्त्रण गर्न विभागले गृह, पर्यटन, वैदेशिक अध्ययन तथा रोजगारीसम्बन्धी मन्त्रालय र नेपाल राष्ट्र बैंकसहितका निकायसँग सहयोग मागेको छ। साथै, बैंक तथा वित्तीय संस्थामा हुने विदेशी मुद्रा सटही प्रक्रियामाथि निगरानी बढाउन राष्ट्र बैंकलाई पत्रसमेत पठाइएको छ।
नयाँ प्रावधान र सुधार
महानिर्देशक तिवारीका अनुसार, भिजिट भिसामा विदेश जानेले ६ महिनाको वैध राहदानी, गन्तव्य देशको भिसा (भिसा अन-अराइभल सुविधा भएका देशमा आवश्यक छैन), दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तको बसोबास प्रमाण, स्पोन्सर लेटर (यदि कसैको निमन्त्रणामा गएको भए) र कम्तीमा ५०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही प्रमाण पेस गर्नुपर्नेछ।
यसअघि लागू गरिएको ‘तीन पुस्ता’ भित्रका आफन्तले मात्र बसोबास व्यवस्थापन गर्न सक्ने नियम अब हटाइँदै, चिने–जाने जसैले पनि भ्रमणका क्रममा बसोबास व्यवस्था गर्न सक्ने प्रावधान मिलाइएको छ।
एयरलाइन्स र ट्राभल एजेन्सीमाथि निगरानी
विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरेका अनुसार, केही एयरलाइन्सहरूले आवश्यकभन्दा बढी सिट बुकिङ गरेर यात्रुलाई बोर्डिङ पास नदिने र पछि फर्काउने गरेको पाइएको छ। यसबारे पनि प्रहरीलाई अनुसन्धानको जिम्मा दिइएको छ।
त्यस्तै, यात्रुलाई सेटिङमार्फत पठाउने प्रवृत्ति रोक्न एयरलाइन्सले १ घण्टा अगावै बोर्डिङ पास अनिवार्य दिनुपर्ने व्यवस्था मिलाइएको छ।