
धान गोड्ने महत्वपूर्ण समयमा किसानलाई मल आवश्यक भए पनि नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा १३६ टन मल थन्किएको छ। सहकारीमार्फत वितरण हुँदै आएको मल सहकारीहरूले समयमै नलगेका कारण किसानले मल पाउन सकेका छैनन्।
भारतीय सीमावर्ती पालिकाका केही किसानले भारतबाट मल ल्याए पनि अधिकांश किसान अभावमा छन्। जिल्लामा ७७ वटा सहकारीमार्फत मल वितरण हुँदै आएको भए पनि अहिलेसम्म ३४ सहकारीले मात्र मल लगेका छन्। साउन १९ गते कृषि सामग्री कम्पनीमा मल आए पनि सोमबारसम्म सुस्ता गाउँपालिकाका १० मध्ये १, सुनवल नगरपालिकाका २० मध्ये ११, बर्दघाट नगरपालिकाका ८ मध्ये ६, सरावल गाउँपालिकाका १३ मध्ये ८, पाल्हिनन्दन गाउँपालिकाका ४ मध्ये २, प्रतापपुर गाउँपालिकाका ८ मध्ये २ र रामग्राम नगरपालिकाका १६ मध्ये ४ सहकारीले मात्र मल वितरणका लागि लगेका छन्।
कृषि सामग्री कम्पनी परासीका प्रबन्धक ताराप्रसाद खनालका अनुसार पालिकाको सिफारिसअनुसार मल वितरण भइरहेको र केही सहकारीहरूले प्रक्रिया अगाडि बढाइरहेका छन्।
समयमै मल उपलब्ध नहुँदा र पर्याप्त मात्रामा नपाउँदा किसान समस्यामा परेको सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताइन्। उनले पालिकाभित्रका सबै सहकारीले एक–दुई दिनभित्र मल ल्याएर वितरण गर्नुपर्ने र कृषि सामग्री कम्पनीले आवश्यक मल तुरुन्त उपलब्ध गराउनुपर्ने माग गरिन्।