Join our Channel

खटाइएको स्थानमा नजाने १५ कर्मचारीको गृह मन्त्रालयले काट्यो हाजिरी

खटाइएको स्थानमा नजाने १५ कर्मचारीको गृह मन्त्रालयले काट्यो हाजिरी

गृह मन्त्रालयले खटाइएको स्थानमा नजाने १५ कर्मचारीको हाजिरी काटेको छ। यसमा ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृत रहेका छन्।

मन्त्रालयको अनुसार, सरुवा वा पदस्थापन भएर पनि एक महिनासम्म तोकिएको कार्यालयमा नगएपछि साउन २० गतेदेखि लागू हुनेगरी डिजिटल र रजिस्टर दुवै हाजिरी काटिएको हो। यसअघि साउन १५ गते मन्त्रालयले २४ घण्टे सूचना जारी गर्दै तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो।

सूचना जारी भएपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा मात्र सम्बन्धित कार्यालय पुगेका थिए। बाँकी १५ जनाले अटेर गर्दै मन्त्रालयमै बसेपछि दबाब स्वरूप हाजिरी काटिएको हो।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले गृह प्रशासनको कार्य अत्यन्त संवेदनशील भएको र कर्मचारी समयमै नपुग्दा सेवाग्राहीलाई असुविधा हुने बताए। उनका अनुसार सबै कर्मचारीलाई काठमाडौंमै राख्न सम्भव नभएकाले बाहिरी जिल्लामा पनि खटाइने चलन छ।

मन्त्रालयका स्रोतका अनुसार हाल १६ जना उपसचिव र ५ जना सहसचिव समेत जगेडामा रहेका छन्। दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई आवश्यक पर्दा तुरुन्तै विभिन्न स्थानमा खटाउने गरिन्छ।

Leave a comment