Join our Channel

एकीकृत समाजवादीको चेतावनी: पार्टी धारणाविपरीत बोले कारबाही हुने

एकीकृत समाजवादीको चेतावनी: पार्टी धारणाविपरीत बोले कारबाही हुने

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आधिकारिक धारणासँग बाझिने अभिव्यक्ति दिने नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। हाल अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको वाकयुद्धपछि कार्यकर्ता विभाजन देखिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा, पार्टी धारणाविपरीत बोल्ने, लेख्ने वा सार्वजनिक रुपमा अभिव्यक्ति दिने प्रवृत्ति देखिएमा अनुशासनको कारबाही हुने उल्लेख गरिएको छ। आयोगले सार्वजनिक कार्यक्रम वा सञ्चारमाध्यममा निजी विचार राखेर कार्यकर्ता र जनतामा भ्रम फैलाउने कार्य नगर्न निर्देशन दिएको छ।

विवादको मूल कारण अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा दर्ता भएको भ्रष्टाचार मुद्दा हो। मुद्दा दर्ता भई सांसद पद निलम्बनमा परे पनि नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट राजीनामा नदिएको भन्दै पार्टीभित्र आलोचना बढेको छ।

नेता खनालले सार्वजनिक रूपमा नै नेपाललाई पार्टीको बदनाम रोक्न राजीनामा दिन सुझाव दिएका छन्। अर्कोतर्फ, अध्यक्ष नेपालले खनाललाई ‘जथाभावी नबोल्न’ चेतावनी दिँदै, पार्टी चलाउन नसक्ने भए राजीनामा दिन सुझाएका छन्।

आन्तरिक विवाद चर्किँदै जाँदा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि परिस्थिति बिग्रिने देखिएपछि बैठक एक महिना पछाडि सारिएको छ।

Leave a comment