Join our Channel

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्यो, गुणस्तरीय र सस्तो सेवाले आकर्षित

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्यो, गुणस्तरीय र सस्तो सेवाले आकर्षित

कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। विशेषगरी भारतबाट आउने सेवाग्राहीको संख्या बढ्दै गएको छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्र अस्पतालले २४ हजार ७८० जनालाई आँखा उपचार सेवा दिएको छ। जसअन्तर्गत ६३४ जनाको मोतियाविन्दु शल्यक्रिया र ५,४१३ जनालाई चश्मा वितरण गरिएको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए।

उनका अनुसार, अस्पतालको गुणस्तरीय सेवा, विभेदरहित उपचार, अतिरिक्त शुल्क नलाग्ने नीति र अन्य अस्पतालको तुलनामा सस्तो दरका कारण भारतीय बिरामी समेत आकर्षित भएका हुन्। उक्त वर्षमा मात्रै १,६६७ भारतीय नागरिकले यहाँ उपचार गराएका छन्।

धामीका अनुसार अस्पतालमा मोतियाविन्दु, आँखामा मासु पलाउने, नेत्र ज्योतिको समस्या, परेला फर्किने, चश्मा आवश्यक पर्ने बिरामीको शल्यक्रिया अस्पतालमै आधुनिक मेसिनमार्फत गरिन्छ। तर जलविन्दु वा रेटिना प्रत्यारोपण जस्ता जटिल प्रकृतिका बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गरिन्छ।

हाल दैनिक ११५ देखि १२० जनासम्म बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। उठेको शुल्क अस्पतालको सञ्चालन र थप सेवामा खर्च गरिन्छ। साथै विद्यालय र दुर्गम क्षेत्रमा आँखा शिविर सञ्चालन गरेर विद्यालयस्तरका १,९०० विद्यार्थी र स्थानीय तहका ३,९०० जनालाई सेवा दिइएको छ।

अस्पताल विसं २०४२ मा स्थापना भई २०७० सालमा १० शय्याको अस्पतालका रूपमा स्तरोन्नति भएको हो। तर अहिलेको भवन शल्यक्रियाका लागि पर्याप्त नहुँदा नयाँ भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको छ।

नेत्र अधिकृत धामीले हाल वायु प्रदूषणका कारण भाइरल आँखाको सङ्क्रमण बढेको भन्दै नियमित सफा पानीले आँखा सफा राख्ने, बाहिर जाँदा टोपी वा कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्।

नेपाल नेत्रज्योति सङ्घ, विसं २०३५ मा स्थापना भएको, देशकै अग्रणी गैर–सरकारी संस्था हो जसले वार्षिक ३० लाखभन्दा बढीलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

Leave a comment