
गत १० वर्षमा नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत क्षेत्रमाथि भएको अतिक्रमणबारे भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ, तर अहिलेसम्म कुनै औपचारिक जवाफ प्राप्त भएको छैन। पछिल्लो पटक नेपालले भारत र चीन दुवैलाई लिपुलेक नाकामार्ग हुँदै व्यापार गर्ने सम्झौताप्रति आपत्ति जनाउँदै अलग–अलग नोट पठाएको छ।
भारतलाई पठाइएका नोटहरू २०७२ देखि २०८२ सम्म विभिन्न समयमा पठाइएका हुन्। तीमध्ये मुख्यतः भारतद्वारा जारी विवादित नक्सा, महाकाली नदीमा तुइन तोडिएको घटना, नेपाली भूमिमा सडक विस्तार र लिपुलेक हुँदै व्यापारिक सम्झौताका कारण नोटिसहरू पठाइएका थिए।
चीनलाई भने नेपालले तीन पटक कूटनीतिक नोट पठाएको छ। चीनले एक पटक मात्र जवाफ दिएको छ भने भारतले प्रायः मौनता अपनाउँदै आएको छ।
नेपालका पूर्वराजदूत र परराष्ट्रविद्हरूले सीमा विवाद समाधानका लागि कूटनीतिक नोट मात्र पर्याप्त नभई प्रधानमन्त्रीस्तरको वार्ता र अन्तर्राष्ट्रियकरण आवश्यक रहेको सुझाव दिएका छन्।
सीमा विवादमा हालसम्म नेपाल–भारत संयुक्त आयोग, बाउन्ड्री वर्किङ ग्रुप र नापी विभागमार्फत छलफल भए पनि ठोस परिणाम आएको छैन।