Join our Channel

कांग्रेस सभापतिमा उठ्छु, गुटबन्दी अन्त्य गर्ने योजना – शशांक कोइराला

कांग्रेस सभापतिमा उठ्छु, गुटबन्दी अन्त्य गर्ने योजना – शशांक कोइराला

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले १५औँ महाधिवेशनमा कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न सभापतिमा उठ्ने बताएका छन् ।

शुक्रबार धनुषामा कांग्रेस जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ता भेटघाट गर्दै उनले गुटबन्दीले कांग्रेसको अवस्था दिनदिनै बिग्रिँदै गएको भन्दै त्यसलाई आफूमात्र अन्त्य गर्न सक्ने दाबी गरेका छन्।

उनी भन्छन्, “म देशभरि नेता कार्यकर्ता भेटिरहेको छु। गठबन्धनका कारण कांग्रेसका धेरै नेता-कार्यकर्ताहरू अवसरविहीन बनेका छन्। म गठबन्धनको घोर विरोधी हुँ। कांग्रेसलाई एकजुट र बलियो बनाउनुपर्छ। टिकट एक जनाले पाउँछ, बाँकी सबै हराउँछन् र हार्छन् । म सभापति भएपछि यस्तो हुँदैन।”

शशांकले पार्टी भित्र प्रभावशाली नेताहरू बस्ने तर टिकट विकेन्द्रीकरण गरी वडा, पालिका, क्षेत्र र जिल्लाका सभापतिहरूको सल्लाह अनुसार दिनुपर्ने बताए।

उनले कांग्रेसका भातृ संघहरू अस्तव्यस्त भएको र सदस्यता वितरण सही तरिकाले नभएको उल्लेख गर्दै कतिपय वडामा क्रियाशील सदस्यता भए पनि मतदानमा उनीहरू सहभागी नहुने अवस्था रहेको बताए।

उनले विधान संशोधन आवश्यक रहेको बताए । “वडा इकाइदेखि केन्द्रीय तहसम्म एउटै सभापति पदमा मात्रै निर्वाचन हुनु पर्छ। सबै पदमा चुनाव हुँदा गुटबन्दी बढ्छ र आम चुनावमा असर पर्छ,” उनले भने।

शशांकले मधेस क्षेत्रलाई कांग्रेसको बलियो आधार बनाउनु आवश्यक रहेको बताए। “मधेसमा कांग्रेस बलियो हुँदा सरकार पनि ठिक रहन्छ। कांग्रेसलाई मधेसबाट उपेक्षित गर्नु हुँदैन । बीपी कोइरालादेखि धेरै नेता मधेसकै हुन्। आगामी दिनमा मेरो मुख्य फोकस मधेस हुनेछ,” उनले जोड दिए।

स्थानीय नेता-कार्यकर्ताले अधिवेशन कहिले हुने भन्ने प्रश्नमा उनले सभापति शेरबहादुर देउवालाई पनि सोधेको र देउवाजीले सम्भव भए चुनाव अघि गर्न सहमति जनाए पनि प्रधानमन्त्री ओलीले अनुमति दिने कि नदिने भन्ने अनिश्चितता रहेको बताए।

Leave a comment