Join our Channel

घरजग्गा र सेयर बजारमा राहत : राष्ट्र बैंकको लचिलो मौद्रिक नीति सार्वजनिक

घरजग्गा र सेयर बजारमा राहत : राष्ट्र बैंकको लचिलो मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा घरजग्गा कर्जा र सेयर बजारलाई लक्षित गर्दै लचिलो नीति अपनाएको छ।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार नीति सार्वजनिक गर्दै निजी घर निर्माण तथा किनमेलका लागि लिइने कर्जाको सीमा ३ करोड रुपैयाँसम्म पुर्याइएको जानकारी दिए।

सेयर बजारका लगानीकर्तालाई राहत:

अबदेखि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिइने व्यक्तिगत कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड बनाइएको छ। यसले सेयर बजारमा लगानीकर्ता बढ्न सक्ने आशा गरिएको छ।
स्टक ब्रोकर संघका अध्यक्ष सागर ढकाल भन्छन्, “हामीले सीमा नै हटाउन माग गरेका थियौं, तर बढाइएकै ठूलो राहत हो। यसले बजारलाई सकारात्मक संकेत दिनेछ।”

घरजग्गा कर्जामा पनि सहजता:

पहिलोपटक घर निर्माण गर्न लिने कर्जामा Loan-to-Value (LTV) अनुपात ८०% पुर्याइएको छ, जुन यसअघि ६०% मात्र थियो।
अन्य घरजग्गा कर्जाको हकमा पनि LTV अनुपात ५०% बाट बढाएर ७०% पुर्‍याइएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरे भन्छन्, “यो नीति स्वागतयोग्य छ। यसले घरजग्गा बजारसँगै इँटा, सिमेन्ट, डन्डी लगायतका उद्योग पनि चलायमान बनाउँछ।”

ऊर्जा क्षेत्रका लागि पनि व्यवस्था:

ऊर्जा क्षेत्रमा कर्जा प्रवाहको ब्याज पुँजीकरण गर्ने व्यवस्थाको पुनरावलोकन गरिने उल्लेख गरिएको छ।
इप्पान अध्यक्ष गणेश कार्की भन्छन्, “ऊर्जा क्षेत्रमा धेरै माग भए पनि मौद्रिक नीतिमा एक बुँदामात्र समावेश गरिए पनि त्यो सकारात्मक हो।”

Leave a comment