
नेपालमा हालसम्मको मनसुन अवधिमा प्राकृतिक विपद्का कारण ३१ जनाको ज्यान गएको छ भने ११२ जना घाइते भएका छन्। गत जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनामा देशभर ६७४ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सो अवधिमा ८७ वटा पहिरोका घटनाले ११ वटा घरमा पूर्णरूपमा क्षति पुर्याएको छ भने २५ वटा घर आंशिक क्षतिग्रस्त भएका छन्। पहिरोका कारण एकवटा पुल, सातवटा गोठ र १४ चौपाया पनि नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार पहिरोबाट मात्र २ करोड २१ लाख रुपैयाँको क्षति भएको छ।
त्यस्तै, ६४ वटा बाढीका घटनामा चार जनाको मृत्यु र चार जना घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रभावित भएका छन् र चारवटा घरमा क्षति पुगेको छ।
८२ वटा चट्याङका घटनामा आठ जनाको ज्यान गएको र २० जना घाइते भएका छन् भने ४५ वटा हुरीका घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
समग्रमा हेर्दा, एक महिनाको अवधिमा भएका विपद्का घटनाहरूबाट करिब २६ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्राधिकरणले जनाएको छ।