
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मनसुन बिस्तारै कमजोर भएको जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश र गण्डकी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने बाँकी भेगमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव छ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। विभागले केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना उल्लेख गरेको छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्य रूपमा मौसम सफा रहने अपेक्षा गरिएको छ। त्यस्तै, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।