
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भुटानमा ‘भुटान पिपुल्स पार्टी’ खोल्नका लागि गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
जय नेपाल फाउन्डेसनद्वारा आयोजित गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती कार्यक्रममा बोल्दै शेखरले गिरिजाबाबुको योगदान स्मरण गरे।
कार्यक्रममा शेखरले भने, “गिरिजाबाबु मोरङ जिल्लाका सभापति हुनुहुन्थ्यो। बिपी कोइरालाले उनलाई यसपटक निर्वाचनमा नउठ्न सुझाएका थिए। तर, गिरिजाबाबुले अस्वीकार गर्नुभयो।”
शेखरका अनुसार, त्यसपछि गिरिजाबाबु आफ्ना निकट मित्र मनहरि बरालसँग भुटान गएका थिए। उनले भने, “गिरिजाबाबु भुटान पुगेर त्यहाँ ‘भुटान पिपुल्स पार्टी’ स्थापना गर्नुभएको हो। भुटान पिपुल्स पार्टीको स्थापना गर्नेमध्ये प्रमुख व्यक्ति गिरिजाप्रसाद कोइराला हुनुहुन्छ।”
शेखरले गिरिजाबाबुको आत्मबल र सकारात्मक सोचका कारण उनी नेपालका प्रभावशाली नेता बन्न सफल भएको उल्लेख गरे।