
रास्वपाका सभापति रवि लामिछानेले मुलुकको आगामी नेतृत्व जेनजी (Gen Z) को माग अनुसार अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार नख्खु जेलबाट रिहा भएपछि उनले मुलुकलाई अब नागरिक सर्वोच्चताको आधारमा अघि लैजानु जरुरी भएको धारणा राखे।
लामिछानेले देशका लुटेराहरुलाई सजाय दिने क्रम जारी रहेको भन्दै उनीहरुको बाँकी सम्पत्ति समेत पूर्ण रुपमा राष्ट्रियकरण गर्नुपर्ने बताए। उनका अनुसार, “लुटेराले जोडेको सम्पत्ति उनीहरूको व्यक्तिगत नभई राष्ट्रकै हो। त्यसैले सम्पूर्ण सम्पत्ति जफत गरी कानुनी दायरामा ल्याउनुपर्छ।”
उनले थपे, “राष्ट्रका सम्पत्ति जोगाउन हामी सबै संयमित हुन जरुरी छ। प्रहरी, सुरक्षा निकाय, न्यायालयसँग सम्बन्धित महत्वपूर्ण कागजातहरूको सुरक्षा गर्न नसक्दा मुलुककै संवेदनशीलता खतरामा पर्न सक्छ। सरकारी सम्पत्ति जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।”
आफ्नो रिहाईबारे बोल्दै लामिछानेले भने, “सरकारले कानुन अनुसारको प्रकिया पुरा गरेर पत्र थमाएपछि म कारागारबाट बाहिर आएको हुँ। तर म सदैव मुलुकको कानुनप्रति बफादार रहनेछु र आगामी कानुनी प्रक्रियाका लागि तयार छु। सबै नागरिकलाई संयमित रहन आग्रह गर्दछु।”
लामिछानेलाई लिन उनका नेता तथा कार्यकर्ताहरू नख्खु जेल पुगेका थिए। तर अर्कोतर्फ, केही जेनजी युवाहरूले भने आफूहरूले रिहाईको माग नगरेको स्पष्ट पारेका छन्। उनीहरूको भनाइमा, “हामी सजाय भोगिरहेका कैदीलाई निकाल्ने उद्देश्य राखेका छैनौं। त्यसको जिम्मा हामी लिँदैनौं।”
हाल नख्खु जेलसहित विभिन्न जेलहरूबाट कैदीहरू निस्किरहेका छन्।