Join our Channel

नागरिकलाई अवाञ्छित गतिविधि रोक्न सतर्क रहन सेनाको आग्रह

नागरिकलाई अवाञ्छित गतिविधि रोक्न सतर्क रहन सेनाको आग्रह

नेपाली सेनाले नागरिकलाई अवाञ्छित गतिविधि हुन नदिन सतर्क रहन र निरन्तर निगरानी गर्न आग्रह गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार सूचना जारी गर्दै स्थानीय समुदायले एकजुट भएर स्थितिको निगरानी र खबर आदानप्रदान गर्नुपर्ने आवश्यकता औंल्याएको हो।

सूचनामा भनिएको छ कि, देशभर विद्यमान सुरक्षा चुनौतीबीच केही उच्छृङ्खल तत्त्वहरूले लुटपाट, आगजनी तथा जीउधनको क्षति पुर्याउने मनसायसहित विध्वंसात्मक गतिविधि गर्न सक्ने सम्भावना देखिएको छ। यस्तो अवस्थामा समुदायभित्र अराजक गतिविधि देखिएमा तुरुन्तै नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन आग्रह गरिएको छ।

नेपाली सेनाले सामाजिक सञ्जालमार्फत भ्रामक खबर फैलाएर समाजमा त्रास फैलाउने गतिविधि बढ्दै गएको भन्दै त्यस्ता गलत सूचनालाई बेवास्ता गर्न र सही खबर मात्र सम्प्रेषण गर्न नागरिकलाई अनुरोध गरेको छ।

निर्देशनालयका अनुसार नेपाली सेना सहित अन्य सुरक्षानिकायहरू देशमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न अहोरात्र खटिरहेका छन्।

Leave a comment