Join our Channel

बानेश्वरमा गोलीबारी र रक्तपात: कर्फ्यु जारी हुँदा समेत सडकमा हिंसा भड्कियो

बानेश्वरमा गोलीबारी र रक्तपात: कर्फ्यु जारी हुँदा समेत सडकमा हिंसा भड्कियो

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा जेन–जी आन्दोलनको प्रदर्शन हिंसात्मक मोड लिँदै गोलीबारी र रक्तपातमा परिणत भएको छ। कर्फ्यु आदेश जारी भए पनि सडकमा दिनभर भिडन्त, अश्रुग्यास, रबर गोली र गोली प्रहार चलिरहेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

बिहानैदेखि माइतीघरमा विद्यालय पोसाकमै आएका युवा र युवतीहरू ब्यानर र प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गर्दै बानेश्वरतर्फ जुलुस निकालेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अन्य मन्त्रीहरूविरुद्ध तीव्र विरोध गरिँदै थिए।

प्रहरीले पहिलो चरणमा पानीको फोहरा र ब्यारिकेड प्रयोग गरे पनि भीड रोक्न सकेन। करिब १२ बजे संसद भवन नजिकै दोस्रो ब्यारिकेड पनि तोडिएपछि स्थिति नियन्त्रणबाहिर गयो। संसद भवनको मुख्य गेटमा भिडन्त चर्किँदै जाँदा अश्रुग्यास, रबर गोली र पछि गोली प्रहार समेत गरियो।

प्रत्यक्षदर्शीका अनुसार, कर्फ्यु आदेश जारी भएपछि पनि गोली प्रहार भइरहेकाले प्रदर्शनकारी र पत्रकार समेत घाइते भए। धेरै युवाहरूको कपडामा रगत लतपतिएको थियो र केहीको मृत्यु भएको पुष्टि स्थानीय स्रोतले गर्यो।

बानेश्वर र आसपासका क्षेत्रमा एम्बुलेन्समा आगजनी, सरकारी भवन र निजी आवासमा ढुंगामुढा भएको खबर छ। सेनाले हस्तक्षेप गरेपछि मात्रै स्थिति केही नियन्त्रणमा आएको थियो।

साँझतिर प्रदर्शनकारीलाई नयाँ बानेश्वरबाट माइतीघर फर्काइए पनि, दिनभरको भिडन्तमा कम्तीमा एक दर्जन युवाले ज्यान गुमाएको जेन–जी समूहले जनाएको छ।

Leave a comment