
देशभर जारी आन्दोलनबीच प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबिच अनौपचारिक छलफल भइसकेको छ।
वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावजस्ता संवेदनशील विषयमा छलफल हुने जनाइएको छ। आन्दोलनरत युवाहरूले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सर्वोच्चतामा आधारित सरकार गठनको माग गर्दै आएका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन जनाएका छन्। उनले यो माग पूरा नगरी आन्दोलन रोक्न नसकिने स्पष्ट पारेका छन्।
नेपाली सेनाले भने युवाहरूसँग संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ। सेनाको भनाइमा, “शान्ति, सुरक्षा र राष्ट्रिय हितका लागि संवादमार्फत अघि बढ्नु जरुरी छ।”