Join our Channel

विदेशी एकल पर्यटकको रोजाइमा नेपाल: विश्वकै ७ औं लोकप्रिय सोलो एड्भेन्चर गन्तव्य

विदेशी एकल पर्यटकको रोजाइमा नेपाल: विश्वकै ७ औं लोकप्रिय सोलो एड्भेन्चर गन्तव्य

नेपाललाई सन् २०२५ का लागि विश्वकै सातौँ उत्कृष्ट एकल साहसिक यात्रा गन्तव्य (Solo Adventure Travel Destination) को सूचीमा समावेश गरिएको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी Much Better Adventures ले सार्वजनिक गरेको यो सूचीमा नेपाल सातौँ स्थानमा परेको हो।

सोलो ट्राभल (एकल यात्रा) को लोकप्रियता विश्वभर बढ्दो छ र नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र साहसिकताले भरिएको देश यसका लागि उपयुक्त गन्तव्य बन्न पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्ला वर्षहरूमा उत्तरदायी पर्यटन नीति, सुरक्षित यात्रा अनुभव र समुदाय–आधारित पर्यटन प्रवद्र्धन गर्दै आएको छ, जसले नेपाललाई सोलो यात्रुका लागि थप भरपर्दो गन्तव्य बनाएको छ।

साथै, नेपालले प्रदान गर्ने सस्तो आवास, सहुलियत प्याकेज र विविध अनुभवहरू एकल पर्यटकका लागि निकै आकर्षक मानिएका छन्। एभरेष्ट बेस क्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, चितवनको जंगल सफारीजस्ता गतिविधिहरूले आत्मिक शान्ति र साहसिकताको अद्भुत संयोजन प्रदान गर्छन्।

Much Better Adventures का सह-संस्थापक श्याम ब्रुसका अनुसार यो सूची ग्राहक अनुभव, पहुँच, सुरक्षा, दिगोपन र लोकप्रियता जस्ता मापदण्डमा आधारित छ। कम्पनीकी कन्टेन्ट म्यानेजर क्रिस्टी होल्म्सले अन्नपूर्ण क्षेत्रमा पैदल यात्रा र चितवन भ्रमणको अनुभवलाई “घरमै जस्तै शान्त र आत्मीय” बताएकी छन्।

सूचीमा इटाली, जापान, नर्वे, स्पेन लगायत देशहरू समावेश छन् भने नेपाल सातौँ स्थानमा पर्न सफल भएको हो। पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले यस्तो सूचीलाई रणनीतिक प्रवद्र्धनको अवसरको रूपमा उपयोग गर्दै गन्तव्य सुधारतर्फ थप पहल गरिने बताए।

Leave a comment