
सुनसरी जिल्लाको रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा शनिबार साँझ एक सिटी सफारी चालकको रहस्यमय हत्या भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा गोली प्रहारको आशंका गरेको जनाएको छ।
प्रहरीका अनुसार, प्र–१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरी मृत अवस्थामा भेटिएका हुन्। उनी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ सवारी चलाउँदै गर्दा सडकदेखि करिब २०० मिटर टाढा रगताम्य अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख प्रहरी निरीक्षक सुजन मुदेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले समेत टोलीसहित थप अनुसन्धान थालेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार मृतकको बायाँ छातीमा गहिरो चोट लागेको र शरीरमा रगतको अत्यधिक बगावट देखिएको छ। प्रहरीले घटनाको स्वरूप हेर्दा गोली प्रहारबाट हत्या गरिएको हुनसक्ने अनुमान गरेको छ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।
घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्, र प्रहरीले घटनास्थल वरपरको क्षेत्र सिल गरी व्यापक अनुसन्धान सुरु गरेको जनाएको छ।