
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगर’ घोषणा गरिएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा नगरपालिकाले यस्तो ऐतिहासिक घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमले पाँच बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पनौती नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको नगरपालिका घोषणा गरेका हुन् । उनले नगर प्रमुख रामशरण भण्डारी र उप–प्रमुख गीता बञ्जारालाई प्रमाण–पत्र हस्तान्तरण पनि गरे ।
संविधान अनुसारको अधिकार कार्यान्वयनमा जोड
कार्यक्रममा समन्वय प्रमुख गौतमले नेपालको संविधान २०७२ मा सुनिश्चित शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषय कार्यान्वयन गर्न यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।
उनले भने, “सबै नागरिकलाई शिक्षा पहुँचमा ल्याउन र दिगो विकास लक्ष्य (SDGs) पुरा गर्न पनि यस्तो अभियान आवश्यक छ ।”
त्यसैगरी, उप–प्रमुख रिमबहादुर तामाङले शिक्षा नै समग्र विकासको आधार भएकाले नगरपालिकाले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
पनौती नगर प्रमुख रामशरण भण्डारीका अनुसार, २०७५ को अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र संविधान २०७२ को प्रावधान अनुसार ४ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालयमा भर्ना गराई शिक्षा सुनिश्चित नगर घोषणा गरिएको हो ।
उनले भने, “नगरपालिकाले शिक्षा क्षेत्र सुधारलाई प्राथमिकता दिँदै आएको छ, जसको सकारात्मक परिणाम एसईईमा देखिएको छ ।”
सहकार्य र सहभागिताले सम्भव भयो: उप–प्रमुख बञ्जाराको भनाइ
नगर उप–प्रमुख गीता बञ्जाराले सबैको सहयोग र सहकार्यले बालबालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको र नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू नगर घोषणा गर्न सकेको बताइन् ।
उनले गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन अझ प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।