
अमेरिकाबाट पछिल्ला ६ महिनामा २८ वटा जिल्लाका १६३ नेपालीलाई निष्कासित (डिपोर्ट) गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ।
सर्वाधिक डिपोर्टमा परेका जिल्ला दाङ (५१ जना), पश्चिम रुकुम (३० जना), र पूर्वी रुकुम (१३ जना) रहेका छन्। अन्य जिल्लाहरूमा सल्यान (९), म्याग्दी (७), पर्वत, बाँके, रोल्पा (६/६), बागलुङ (५), र सिन्धुपाल्चोक (४) रहेका छन्।
कुल १६३ जना मध्ये १४६ पुरुष र १७ महिला रहेका छन्। ट्रम्प प्रशासनले अवैध रूपमा अमेरिका छिरेका विदेशी आप्रवासीमाथि निगरानी बढाउँदै विशेष चार्टर्ड र नियमित उडानमार्फत डिपोर्ट गरिरहेको छ।
गिरोहमार्फत ‘डंकी रुट’ बाट अमेरिका
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसार अधिकांश डिपोर्ट भएका नेपालीहरू ‘डंकी रुट’ बाट संगठित गिरोहको सहायतामा अमेरिका पुगेका थिए। ती गिरोहहरूले प्रति व्यक्ति १ करोड रुपैयाँसम्म असुल्दै आएका छन्।
ती गिरोहबारे खुलेर बोल्न नचाहे पनि फिर्ता आएका धेरैले आफूहरू रकम बुझाएर अमेरिका गएको स्वीकार गरेका छन्। डिपोर्ट सूचीमा रहेका व्यक्तिहरूलाई अध्यागमन कार्यालय र प्रहरीको संयुक्त अनुगमनमा अनुसन्धान गरिएको छ।
चार्टर्ड विमान र नियमित उडानमार्फत फिर्ती
२१ फागुन २०८१ मा पहिलो पटक चार्टर्ड फ्लाइटमार्फत ८ जनालाई ल्याइयो भने जेठ २४ मा ३७ जना फिर्ता गरिए। ओम्नी एयर इन्टरनेसनलको विमानमा कुल ४६ जनाको सूची भए पनि ३७ मात्र आएका थिए। बाँकी क्रमशः आइरहेका छन्।
‘टायर टु वाच लिस्ट’ मा नेपाल
मानव तस्करीमा राज्य संयन्त्रको प्रयोग देखिएको भन्दै अमेरिकाले नेपाललाई ‘टायर टु वाच लिस्ट’ मा राखेको छ। भिजिट भिसाको दुरुपयोग, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत कारणले अमेरिका गम्भीर चासोमा रहेको छ।
डिपोर्ट भएका जिल्लाको सूची
- दाङ : ५१
- पश्चिम रुकुम : ३०
- पूर्वी रुकुम : १३
- सल्यान : ९
- म्याग्दी : ७
- पर्वत, बाँके, रोल्पा : ६/६
- बागलुङ : ५
- सिन्धुपाल्चोक : ४
- अन्य १८ जिल्ला : २६