
अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत मनासस पार्कस्थित एउटा अपार्टमेन्टमा चार जना नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई वयस्क र दुई बालबालिका रहेका छन्।
मृतकमा सन्तोष परियार र अञ्जु श्रेष्ठ परिवार
प्रहरीका अनुसार, मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान — २ वर्षीय छोरा र ८ वर्षीया छोरी रहेका छन्।
यो बिहीबार रातिको घटना हो। परिवारले मनासस पार्कको लानाए लेनस्थित ९४०० ब्लकको अपार्टमेन्टमा बसोबास गर्दै आएका थिए।
गोली प्रहारको आशंका, घटनास्थलबाट बन्दुक फेला
स्थानीय प्रहरीले दिएको जानकारीअनुसार उनीहरू गोली लागेको अवस्थामा फेला परेका हुन्।
घरको तल्लो तलामा बस्ने उनीहरूसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलमै एक थान बन्दुक पनि बरामद गरेको छ।
हत्या वा आत्महत्या? प्रहरीले अनुसन्धान गरिरहेको
मनासस पार्क प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार, घटनाबारे प्रारम्भिक रूपमा हत्या वा आत्महत्या दुवै सम्भावना रहेको बताइएको छ।
तर, कोले गोली चलायो भन्ने कुरा अझै यकिन भइसकेको छैन।
शवहरू पोस्टमार्टमका लागि मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।
भर्जिनियामा नेपाली समुदायमा दोहोऱिएको दुखद घटना
गत वर्ष पनि भर्जिनियामै नेपाली महिला ममता काफ्लेको मृत्यु भएको थियो।
त्यस घटनामा उनका श्रीमान् नरेश भट्टमाथि मुद्दा चलिरहेको छ। प्रहरी अहिले पनि नरेशमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।