
काठमाडौं, – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ २५ गतेदेखि यू–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। देशभरका विद्यालयस्तरका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिन प्रतियोगिता आयोजना गरिएको हो।
राखेपले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै ७ वटै प्रदेशका ४७६ जना खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ। जिल्ला र प्रदेशस्तरीय छनोट प्रक्रियाबाट छानिएका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्।
६ खेल विधामा प्रतिस्पर्धा, २५ स्वर्णका लागि भिडन्त
प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, थ्री बाइ थ्री बास्केटबल, रग्बी सेभेन्स, ब्याडमिन्टन र छात्र क्रिकेट गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ। क्रिकेट ट्वान्टी–२० ढाँचामा २० ओभरको खेल हुनेछ भने अन्य खेलहरू जेठ २५ र २६ गते सम्पन्न हुनेछन्।
यो प्रतियोगितामा २५ स्वर्णसहित ८३ पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
- एथलेटिक्स र रग्बी – दशरथ रंगशाला, त्रिपुरेश्वर
- टेबलटेनिस – राष्ट्रिय प्रशिक्षण केन्द्र, लैनचौर
- बास्केटबल – राखेप हाता
- ब्याडमिन्टन – बूढानीलकण्ठ ब्याडमिन्टन एकेडेमी
- क्रिकेट – मूलपानी क्रिकेट मैदान (जेठ २५–२९)
खेलकुदमा ग्रासरुट विकासलाई प्राथमिकता
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले “खेलकुदको जग ग्रासरुट हो” भन्ने सुने पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको भन्दै यस्ता प्रतियोगिता सुरू गरिएको बताए।
एक्सपर्ट एजुकेसन भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको यो प्रतियोगितामा नेपालय इभेन्ट म्यानेजमेन्ट सह–आयोजकको रूपमा रहनेछ।
नेपाल विद्यालय खेलकुद महासंघ, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।