
केवल रक्सी पिउने मानिसलाई मात्र कलेजो बिग्रिने (लिभरसिरोसिस) समस्या देखिन्छ भन्ने मान्यता अब बदलिन थालेको छ। पछिल्लो समय रक्सी नपिउने व्यक्तिहरूमा समेत कलेजोसम्बन्धी गम्भीर समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन्।
नेपाल मेडिसिटी अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सुनिलकुमार शर्माका अनुसार, चीन र भारतजस्ता देशहरूमा पहिले नै नन-अल्कोहोलिक लिभरसिरोसिस (रक्सी नपिउनेमा देखिने कलेजो बिग्रिने रोग) देखिएको थियो। अब केही वर्षमै नेपालमा पनि यस्ता बिरामीको संख्या उल्लेख्य रुपमा बढ्ने आँकलन गरिएको छ।
बढ्दो मोटोपना र बेवास्ता कारण
वीर अस्पतालका निर्देशक तथा हेपाटोलोजिस्ट डा. दिलीप शर्माका अनुसार, मोटोपना, उच्च रक्तचाप र टाइप २ मधुमेहजस्ता समस्यासहित अस्पताल आउने बिरामीमध्ये करिब २० प्रतिशतमा नन-अल्कोहोलिक फ्याटी लिभरको समस्या देखिन्छ। तीमध्ये १–२ प्रतिशत बिरामीमा कलेजोमा गम्भीर क्षति (लिभरसिरोसिस) पनि पाइएको छ।
डा. उमिद श्रेष्ठका अनुसार आजको व्यस्त तर निष्क्रिय जीवनशैली, अत्यधिक बोसोयुक्त खाना, व्यायामको अभाव, पत्रुखानाको अत्यधिक प्रयोगजस्ता कारणले नन-अल्कोहोलिक फ्याटी लिभरका बिरामी दिनप्रतिदिन बढिरहेका छन्।
समस्याको जरा – अस्वस्थ जीवनशैली
डा. रामबाबु शाह भन्छन्, ‘‘रक्सी नपिउँदा पनि मोटोपन, असन्तुलित आहार, अत्यधिक चिल्लो वा गुलियो खाने बानी, खानासँगै सुत्ने बानी, मधुमेह, उच्च रक्तचापजस्ता कारणले कलेजोमा बोसो जम्न थाल्छ, जुन पछि लिभरसिरोसिसमा परिणत हुन्छ।’’
यदि समयमै उपचार र निगरानी गरिएन भने कलेजोमा फाइब्रोसिस (घाउ लाग्ने प्रक्रिया) सुरु हुन्छ र त्यसपछि लिभरसिरोसिसको गम्भीर अवस्था आउन सक्छ। यस्तो अवस्थामा कलेजो क्यान्सरसम्म हुन सक्ने डा. शर्मा बताउँछन्।
लक्षणहरू र सावधानी
लिभरसिरोसिसको सुरुवाती लक्षणमा थकान, भोक नलाग्ने, पेट दुख्ने, पेट फुल्ने, कालो दिसा, मुखबाट रगत आउने, बेहोस हुने लगायतका लक्षण देखिन्छन्।
चिकित्सकहरू भन्छन्, स्वस्थ जीवनशैली अपनाएर र नियमित चेकजाँच गराएर लिभरसिरोसिसजस्ता गम्भीर रोगबाट बच्न सकिन्छ। सन्तुलित भोजन, नियमित व्यायाम, चिल्लो र गुलियो खाना कम सेवन, सागपात र फलफूलको सेवनले कलेजोलाई स्वस्थ राख्न सकिन्छ।