Join our Channel

नुवाकोटमा ४ करोडभन्दा बढीको खसीबोका कारोबार

नुवाकोटमा ४ करोडभन्दा बढीको खसीबोका कारोबार

नेपालीको महान् पर्व बडादशैं नजिकिँदै गर्दा नुवाकोटमा खसीबोका व्यापार र बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। यस वर्ष मात्रै नुवाकोटमा करिब ४ करोड रुपैयाँभन्दा बढीको खसीबोका कारोबार भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ।

कार्यालयका प्रमुख डा. निशान्त शर्मा गेलालका अनुसार बडादशैंको अवसरमा नुवाकोटबाट ३ करोड १५ लाख रुपैयाँ बराबरका १ हजार ५ सय गोटा खसीबोका काठमाडौं, धादिङ, र चितवनलगायतका जिल्लामा पठाइएका छन्।

उनका अनुसार चीनको केरुङबाट भेडाच्यांग्रा आयात रोकिएपछि नुवाकोटका खसीबोका खरिद गर्नेहरू बढेका छन्। “नुवाकोटका खसीबोका स्वस्थ, स्वच्छ र स्वादिलो हुने भएकाले माग बढेको हो,” डा. गेलालले बताए।

नुवाकोटका बजारहरूमा अहिले ३० किलोसम्मको जिउँदो खसीबोका प्रतिकिलो ५५० देखि ५८० रुपैयाँ, र ३० किलोभन्दा माथिका खसीबोका ६०० देखि ६२० रुपैयाँमा बिक्री भइरहेको छ।

यसै क्रममा, राँगो, कुखुरा, माछा र अन्य मासुजन्य वस्तुहरू समेत गरी १ करोड ५ लाख रुपैयाँ बराबरको खपत भएको कार्यालयले जनाएको छ।

नुवाकोटमा अहिले १७५ भन्दा बढी व्यावसायिक बाख्रापालन फर्म सञ्चालनमा छन्। दशैंमा उच्च मागका कारण किसानहरूले राम्रो आम्दानी गरेको जनाइएको छ। एकै कृषकले यस वर्ष १० वटासम्म खसीबोका बिक्री गरेको उदाहरण समेत भेटिएको छ।

स्थानीय किसानहरूका अनुसार, नुवाकोटको पहाडी भू–संरचना र प्राकृतिक घाँसे मैदानले खसीबोका पालनका लागि उपयुक्त वातावरण प्रदान गर्ने भएकाले यहाँको बाख्रापालन व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ।

Leave a comment