
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमतिप्रति कडा आपत्ति जनाएका छन्। शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग भएको दुईपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले यो विषय नेपालको सार्वभौमिकता र भूभागीय अखण्डतामाथि हस्तक्षेप हुने भन्दै स्पष्ट असहमति प्रकट गरे।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका सम्पूर्ण भूभाग नेपालको अविभाज्य हिस्सा भएको स्पष्ट पारे। उनले भने, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन–भारतबीचको सहमति नेपालका लागि आपत्तिजनक छ। यस मामिलामा चीनले नेपालको सार्वभौम अधिकारलाई सम्मान गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
भेटवार्ता सौहार्दपूर्ण रहेको जनाइएको छ। दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन्।
यसअघि भदौ २ र ३ गते चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमण गर्दै भारतीय समकक्षी एस जयशंकरसँग व्यापारलगायत विभिन्न विषयमा समझदारी गरेका थिए। सो क्रममा लिपुलेक हुँदै व्यापारिक सहमति गर्ने प्रस्तावसमेत आएको थियो, जसप्रति नेपालले तत्कालै असहमति जनाउँदै चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाइसकेको छ।
नेपालले स्पष्ट पारेको छ कि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो, र यसमा तेस्रो पक्षको कुनै पनि सहमति अस्वीकार्य हुनेछ।