
प्रधानमन्त्री केपी शर्मा ओली यही असार महिनाको तेस्रो सातामा स्पेनको सेविला सहर जाँदैछन्। संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको ‘विकासका लागि वित्तपोषण’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ असार १५ गते स्पेन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको यो भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ। यदी कुनै आकस्मिक कारणले परिवर्तन नभएमा प्रधानमन्त्री ओली असार १५ गते स्पेन प्रस्थान गर्नेछन् भने असार २० गते फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत भ्रमणमा सहभागी हुने निश्चित भएको छ। अन्य प्रतिनिधिमण्डलको नाम भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।
सम्मेलनको पृष्ठभूमि
स्पेनको सेविलामा असार १६ देखि १९ गते (३० जुन – ३ जुलाई) सम्म आयोजना हुने यो सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्षहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), विश्व बैंक, विश्व व्यापार संगठन (WTO), युनिसेफ, विश्व स्वास्थ्य संगठन (WHO) लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निकायका प्रमुखहरूको सहभागिता रहनेछ।
उक्त सम्मेलनमा विकासशील तथा अतिकम विकसित राष्ट्रहरूका लागि आर्थिक स्रोत जुटाउने, सहयोग अभिवृद्धि गर्ने र दिगो विकास लक्ष्य (SDG) हासिल गर्न सहयोग पुग्ने विषयमा गम्भीर छलफल हुनेछ।
नेपाल हाल अतिकम विकसित राष्ट्रहरूको अध्यक्ष राष्ट्र हो। त्यसैले प्रधानमन्त्री ओली नेपाल मात्र होइन, सम्पूर्ण एलडीसी (LDC) राष्ट्रहरूको तर्फबाट पनि सम्मेलनमा प्रतिनिधित्व गर्नेछन्।