Join our Channel

ट्रम्पको धम्कीपछि तेहरान छाड्दै नागरिक, इरान–इजरायल तनाव चरममा

ट्रम्पको धम्कीपछि तेहरान छाड्दै नागरिक, इरान–इजरायल तनाव चरममा
Getty Images

इरान र इजरायलबीचको बढ्दो तनावका बीच अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्त खाली गर्न चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसियल एकाउन्टमार्फत भनेका छन्, “मैले जुन सम्झौताका लागि भनिरहेको थिए, इरानले त्यो स्वीकारेन्। यो मानव जीवनको लागि लज्जास्पद क्षति हो। अब सबैले तेहरान छाड्नुपर्छ।”

ट्रम्प हालै क्यानडामा भएको जी-७ सम्मेलनका लागि गएका थिए, तर मध्यपूर्वमा चुलिएको संकटका कारण उनी तत्काल अमेरिका फर्किने जनाइएको छ।

यसैबीच, अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार ट्रम्प इरानको फोर्डो न्यूक्लियर साइटमा हमला गर्ने कि नगर्ने विषयमा गम्भीर छलफलमा छन्। यो स्थान जमिनको गहिरो सतहमा रहेको र त्यहाँ आक्रमण केवल म्यासिभ अर्डनेन्स पेनेट्रेटर बमबाट मात्र सम्भव हुने जनाइएको छ।

यदी अमेरिकाले उक्त स्थानमा हमला गर्‍यो भने, यो सिधै युद्धको सुरुवात हुने विज्ञहरूले चेतावनी दिएका छन्।

शहर छाड्दै इरानी नागरिक

ट्रम्पको चेतावनीसँगै इरानको राजधानी तेहरानबाट ठूलो संख्यामा नागरिकहरू भाग्न थालेका छन्। विभिन्न मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा सहर छाड्ने नागरिकहरूको लामबद्ध यात्रा देखिन्छ।

एपी न्यूजका अनुसार इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नागरिकहरू स्थलमार्गमार्फत सीमातिर जान प्रयास गरिरहेका छन्। तर सीमापार गर्न सवारीसाधनको अभाव रहेको बताइएको छ।

यता इजरायलले आफ्ना नागरिकलाई जोर्डन र मिश्रको बाटो हुँदै देश छाड्न आग्रह गरेको छ, तर यी देशहरू यहुदीहरूका लागि सुरक्षित नरहने भनिएको छ।

युद्धमा मृत्यु र क्षति

अहिलेसम्मको रिपोर्टअनुसार इरानी हमलामा परी इजरायलमा २४ जनाको मृत्यु भएको छ भने इजरायली आक्रमणमा परी इरानमा २२४ जना मारिएका छन्।

मंगलबार बिहान इरानको एउटा परमाणु क्षेत्रमा इजरायली आक्रमण भएको दाबी गर्दै सञ्चारमाध्यमहरूले ठूलो विस्फोटको आवाज सुनिएको उल्लेख गरेका छन्।

इरान–इजरायल संघर्ष दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। ट्रम्पको कडा चेतावनी र संभावित अमेरिकी हस्तक्षेपले यो तनाव अझै युद्धमा रूपान्तरण हुने खतरा बढाएको छ। नागरिकहरू त्रसित छन् र राजधानी छाड्न थालेका छन्।

Leave a comment