
पोखरामा सम्पन्न प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि एपीएफ क्लबले जितेको छ। शनिबार पोखरा रंगशालास्थित कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो।
एपीएफले २५–१९, २५–२० र २५–११ को सहज जित निकाल्दै ३–० को सेटमा विजय हात पारेको हो। पुलिस क्लबले प्रतियोगितामा अपराजित यात्रा तय गर्दै फाइनलमा प्रवेश गरे पनि अन्तिम खेलमा आफ्नो लय कायम राख्न सकेन।
पहिलो सेट प्रतिस्पर्धात्मक रहे पनि अन्त्यतिर एपीएफले लय समात्दै २५–१९ ले सेट आफ्नो बनायो। दोस्रो सेटमा पनि पुलिस क्लबले प्रयास गरे तापनि निरुता ठगुन्नाको सशक्त आक्रमण र एपीएफको बलियो डिफेन्स सामु टिक्न सकेन। एपीएफले दोस्रो सेट २५–२० ले जित्दै खेलमा २–० को अग्रता बनायो।
तेस्रो सेटमा एपीएफ झनै आक्रामक देखियो। पुलिसको प्रदर्शन कमजोर हुँदा एपीएफले २५–११ को फराकिलो जित निकाल्दै उपाधि आफ्नो पक्षमा ल्यायो।
एपीएफले उपाधिसँगै नगद ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता बनेको नेपाल पुलिस क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो।
फाइनल अघि भएको तेस्रो स्थानका लागि खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गर्दै १ लाख रुपैयाँ जितेको थियो।
सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड र पुलिसले एभरेस्ट क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएका थिए।
यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइएको थियो जहाँ ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना नेशनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघले संयुक्त रुपमा गरेका थिए।