Join our Channel

ठूला भनिने दलहरूको अहंकारले देश संकटमा : पुष्पकमल दाहाल ‘प्रचण्ड’

ठूला भनिने दलहरूको अहंकारले देश संकटमा : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भनिने राजनीतिक दलहरूको अहंकारका कारण देश आज भयानक परिस्थितिमा आइपुगेको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले विगतमा संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भनेर प्रस्तुत गर्नेहरूको जिद्दी र अहंकारकै कारण मुलुक संकटमा फसेको बताए।

प्रचण्डले माओवादी पार्टीले सुरुदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा निरन्तर वकालत गर्दै आएको स्मरण गरे। उनका अनुसार हालैको जेनजी आन्दोलनले त्यही ऐतिहासिक मागलाई फेरि एकपटक पुष्टि गरेको छ।

उनले भने, “१० वर्षपछि फेरि संविधान संशोधनमार्फत वा पुनर्लेखन गरेर मुलुकलाई सही बाटोमा लैजान सकिन्छ भन्ने आधार बनेको छ।”

उत्पीडित वर्गलाई अधिकार दिलाउने गर्व

प्रचण्डले देशका उत्पीडित वर्ग र समुदायलाई अधिकार दिलाउने ऐतिहासिक कार्यमा गर्व गर्नुपर्ने धारणा राखे। उनले हीनताबोधमा बाँच्नुपर्ने कुनै कारण नभएको भन्दै जनताले पाएको अधिकारलाई सुरक्षित राख्न सबै एकजुट हुनुपर्ने बताए।

नेतृत्वलाई बदनाम गर्ने प्रवृत्तिप्रति चेतावनी

उनले संविधानसभा, सुशासन र भ्रष्टाचारविरुद्धको नेतृत्वलाई “भ्रष्टाचारी”सँग तुलना गर्ने प्रवृत्ति इतिहासप्रति र जनताप्रति ठूलो विश्वासघात भएको टिप्पणी गरे। साथै, भाद्र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठ गरी तोडफोड मच्चाउने भयानक डिजाइन भएको दाबी पनि गरे।

राष्ट्रपतिको भूमिकाको प्रशंसा

अन्तरिम सरकार गठनको प्रक्रियामा संविधान जोगाउने प्रयासमा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको प्रचण्डले बताए। उनले प्रधानसेनापतिको भूमिकालाई पनि सकारात्मक भनेका छन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जोड

प्रचण्डले घोषित मितिमै निर्वाचन गरि, जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्ने बाटो संविधानमै खुल्नुपर्ने माग गरे।

Leave a comment