Join our Channel

म अपराधी होइन भन्ने ठाउँ संसद् होइन, अदालत हो

"म अपराधी होइन भन्ने ठाउँ संसद् होइन, अदालत हो"

स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसदमा होइन, अदालतमा जवाफ दिन चुनौती दिएका छन्।

गृहमन्त्री लेखकले केही दिनअघि संसद्को रोष्ट्रमबाट आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको स्पष्ट पार्दै वक्तव्य दिएका थिए। तर, सो बयानपछि स्वागत नेपालले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्।

नेपालले लेखेका छन्,
“म अपराधी होइन भनेर बयान दिने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघरा हो। अदालतमा स्वागत नेपालहरूले प्रश्न गर्छन् जनताको तर्फबाट, हिम्मत छ जवाफ दिने? छ भने आउनु, नआए कुनै दिन ल्याउने छन् चौखुर्याएर। रवि लामिछानेलाई के भन्थ्यौ? बिर्सियौ?”

उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।

यसबीच भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकारीहरूले गैरकानुनी रूपमा नेपाली नागरिकहरूलाई विदेश पठाउन सहयोग गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले विमानस्थलका अध्यागमन प्रमुखसहित पाँच जनामाथि अनुसन्धान अगाडि बढाएको पुष्टि गरिसकेको छ।

यो प्रकरण अहिले नेपाली राजनीतिक वृत्तमा निकै चासोको विषय बनेको छ। सत्ता पक्षका नेताहरूले आरोपको खण्डन गरिरहेका छन् भने विपक्षीहरू र नागरिक समाजले गम्भीर अनुसन्धानको माग गरिरहेका छन्।

Leave a comment