Join our Channel

प्रचण्डको भनाइ : जेनजीको माग पूरा गर्न र राष्ट्र अगाडि बढाउन निर्वाचनको विकल्प छैन

प्रचण्डको भनाइ : जेनजीको माग पूरा गर्न र राष्ट्र अगाडि बढाउन निर्वाचनको विकल्प छैन

नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवापुस्ताको माग पूरा गर्न र राष्ट्रलाई नयाँ दिशातर्फ अघि बढाउन आगामी निर्वाचन अपरिहार्य भएको बताएका छन्।

बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा जनस्तरमा संगठन बलियो बनाउन नसक्दा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न नसकेको बताए।

उनले भने, “अब हामी योजनाबद्ध रूपमा सबै पक्षलाई समेटेर आगामी निर्वाचनमा नयाँ रणनीति बनाउनेछौं।” प्रचण्डका अनुसार, युवापुस्ताले उठाएका धेरै माग माओवादी पार्टीले विगतदेखि नै उठाउँदै आएको विषय हुन्।

उनले स्मरण गरे, “मेरो नेतृत्वको सरकारले मिटरव्याज, भ्रष्टाचार, सुशासन र सामाजिक न्यायका मुद्दा उठाएको थियो। त्यही क्रममा मजदुर, किसान, दलित र पीडित वर्गका माग सम्बोधन हुँदै थिए। तर केही तत्वहरूलाई त्यो सरकार अपच भयो, त्यसैले ढालियो। अहिले पनि ती मुद्दा अधुरा छन्।”

संयोजक प्रचण्डले हालको जेनजी आन्दोलनले राष्ट्रलाई आर्थिक र सामाजिक दृष्टिले ठूलो क्षति पुर्‍याएको टिप्पणी गरे। उनले सबै राजनीतिक दल र नागरिकले जनताको विश्वास जित्ने खालको परिवर्तनका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।

Leave a comment