
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्वारत्सखेलिया र अचरफ हाकिमी को गोलमार्फत क्लब वर्ल्डकप २०२५ को समूह चरणको अन्तिम खेलमा सियाटल सन्डर्सलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
पीएसजीले अघिल्लो खेलमा बोटाफोगोसँग हार बेहोरिसकेको थियो, जसले गर्दा यो खेल जित्नु अनिवार्य थियो। यो जितसँगै युरोपेली च्याम्पियन पीएसजीले गोल अन्तरको आधारमा समूह बी जितेको हो।
त्यही समूहको अर्को खेलमा बोटाफोगो ले एटलेटिको म्याड्रिड सँग १–० को हार बेहोर्नु पर्यो। एटलेटिकोका लागि एन्टोनियो ग्रिजमनले एक मात्र गोल गरे पनि त्यो उनीहरूलाई अन्तिम १६ मा पुर्याउन पर्याप्त भएन।
यद्यपि, ब्राजिलियन क्लब बोटाफोगो पनि दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्न सफल भयो। पीएसजी, बोटाफोगो र एटलेटिको तीनै टिम ६ अंकमा रहे पनि गोल अन्तरले एटलेटिको बाहिरिएको हो।