Join our Channel

राप्रपामा चर्कियो लिङ्देन–राणा विवाद, आन्दोलनभन्दा गुटबन्दी हावी

राप्रपामा चर्कियो लिङ्देन–राणा विवाद, आन्दोलनभन्दा गुटबन्दी हावी

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले गम्भीर आन्तरिक विवादमा फसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको मतभेद अहिले गम्भीर टकरावमा रूपान्तरित हुँदै गएको छ।

पछिल्लो समय लिङ्देन र राणा पक्षले अलग-अलग बैठक र कार्यक्रमहरू आयोजना गर्न थालेपछि पार्टी कार्यकर्ता अन्योलमा परेका छन्। विवाद चुलिँदै जाँदा असन्तुष्ट समूहले कार्यसम्पादन समिति बैठकको मागसमेत गरिसकेको छ। यद्यपि, अध्यक्ष लिङ्देनको पक्षबाट बैठक बोलाउने तयारी नरहेको स्रोतले जनाएको छ।

महामन्त्री राणाको नेतृत्वमा असन्तुष्ट समूहले नेताहरूलाई भटाभट हटाएको भन्दै बैठकको माग गरेका छन्। प्रवक्ता सगुनसुन्दर लावती, नेता नवराज सुवेदी, उपाध्यक्ष मुकुन्दश्याम गिरीलगायत नेताहरूको जिम्मेवारी खोसिएकोमा असन्तुष्ट पक्ष आक्रोशित छ। नवराज सुवेदीले त पार्टी नै परित्याग गरी निर्वाचन आयोगसम्म पुगेका छन्।

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही लगायत ५० भन्दा बढी नेताहरू छुट्टै भेलामा सहभागी भएर अध्यक्ष लिङ्देनमाथि दबाब बनाउने प्रयासमा छन्।

यसैबीच, राप्रपाका पुराना नेता राजु गैरेमाथि अध्यक्ष लिङ्देनका स्वकीय सचिवबाट आक्रमण भएको भन्दै थप विवाद चुलिएको छ। सामाजिक सञ्जालमा आलोचना गरेको निहुँमा गैरेमाथि हेल्मेट प्रहार गरिएको भिडियो सार्वजनिक भएको छ। तर पार्टी र प्रहरीले पीडितको उजुरीलाई बेवास्ता गरेको आरोप लागेको छ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले भने यी सबै घटनालाई व्यक्तिगत विषयको संज्ञा दिएका छन्। तर पार्टीभित्रको कलहले राजसंस्थाका पक्षमा चलिरहेको आन्दोलन कमजोर बनेको भन्दै धेरै कार्यकर्ताहरू चिन्तित देखिन्छन्।

Leave a comment