Join our Channel

निर्वाचनमा फोकस: रास्वपाको निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निर्णय

निर्वाचनमा फोकस: रास्वपाको निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबका दिनमा आफ्नो सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित गतिविधिमा दिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले लोकतान्त्रिक दलको हैसियतले निर्वाचनलाई प्रमुख प्राथमिकता दिने निष्कर्ष निकालेको हो।

बैठकपछि रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिँदै भने, “रास्वपा लोकतान्त्रिक पार्टी भएकाले अबको ध्यान निर्वाचनतर्फ हुनेछ। त्यसका लागि देशभरका गतिविधिलाई तीव्रता दिने निर्णय भएको छ।”

पराजुलीका अनुसार पार्टीले न्याय, सुशासन र भ्रष्टाचारविरुद्धका गतिविधिमा सरकारलाई पूर्ण समर्थन गर्ने निर्णय पनि गरेको छ। उनले थपे, “सरकारको म्याण्डेट निर्वाचन भएकाले सबै दललाई सहभागी गराउने वातावरण सरकारले सुनिश्चित गर्नुपर्छ।”

रास्वपाले मतदाता नामावली अद्यावधिक अभियानलाई पनि सशक्तरूपमा अघि बढाउने भएको छ। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नामावली अद्यावधिकको समय दिएका कारण पार्टीले आफ्ना कार्यकर्तालाई नाम दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको पराजुलीले बताए।

त्यस्तै बैठकमा तल्लो तहका अधिवेशन, उम्मेदवार छनोटका मापदण्ड र पार्टीको विस्तारित भेला सम्बन्धी तयारीबारे पनि छलफल भएको रास्वपाले जनाएको छ। सचिवालय बैठक मंगलबार पुनः बस्नेछ।

Leave a comment