
रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले न्युरोसर्जन डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आयोजित कार्यक्रममा उनको उम्मेदवारी सार्वजनिक गरिएको हो। उपनिर्वाचन कात्तिक १७ गते हुने तय भएको छ।
डा. थापाले इन्टर्नल मेडिसिनमा एमडी र न्युरोलोजीमा डीएम गरेका छन् र हाल महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरका प्रमुख हुन्। रास्वपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्दा शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल, मधुप्रसाद अर्याललगायतले प्रतिस्पर्धा गरेका थिए।
रुपन्देही–३ मा करिब १ लाख ३० हजार मतदाता छन् र २०७९ को आमनिर्वाचनमा करिब ९० हजार मत खसेको थियो। त्यतिबेला रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो भने प्रत्यक्षतर्फ जितबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए।
रास्वपाले यस उपनिर्वाचनलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको जनाएको छ।