Join our Channel

मुद्दा नसकिँदै बैंकको लिलामी सुरु, ‘सेफ नेपाल’को करोडौं सम्पत्ति जोगाउन हम्मे

मुद्दा नसकिँदै बैंकको लिलामी सुरु, 'सेफ नेपाल'को करोडौं सम्पत्ति जोगाउन हम्मे

सामाजिक रूपान्तरणका लागि स्थापित सेफ नेपाल (शिक्षाका लागि सामाजिक जागरण) अहिले आफैंको सम्पत्ति जोगाउने संकटपूर्ण अभियानमा होमिएको छ। संस्थापककै बदमासीपछि संस्था गम्भीर संकटमा परेको छ भने बैंकले मुद्दा नसकिँदै जग्गा लिलामी प्रक्रिया सुरु गरिसकेको छ।

श्रीमतीको नाममा पास, बैंकबाट करोडौंको ऋण

वि.सं. २०४९ मा वादी समुदायको शिक्षासहित शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका क्षेत्रमा काम गर्नका लागि स्थापना गरिएको सेफ नेपालको सम्पत्तिमाथि संस्थापक अध्यक्ष सुकलाल नेपालीले हिनामिना गरेको आरोप लागेको छ।

सुकलालले संस्थाको ४ कठ्ठा जग्गा (घरसहित) श्रीमती रिना वादीको नाममा २७ लाखमा बेचेको कागज बनाएर NIC Asia Bank बाट रु १ करोड ५० लाख ऋण लिएका थिए।

संस्थाका वर्तमान अध्यक्ष अभिशेष नेपालीका अनुसार, २०८१ असार १३ गते रिना वादीसँग साउन १५ गतेभित्र जग्गा फिर्ता गर्ने सहमति भएको थियो। तर, त्यसपछि सुकलाल र रिना दुवै फरार भएका छन्।

मुद्दा अदालतमा, आदेश कार्यान्वयनमा ढिलासुस्ती

  • बाँके जिल्ला अदालतले २०८२ जेठ ४ गते सुकलालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
  • सात दिनमा नपक्रिएपछि ३५ दिने पक्राउ आदेश पनि जारी गरिएको छ।
  • तर, प्रहरीले अझै पनि तदारुकता नदेखाउँदा अदालतको आदेश पालना हुन सकेको छैन।

यतिबेला सेफ नेपालको वर्तमान समिति ‘सेफ नेपालको सम्पत्ति तथा अस्तित्व बचाऊ अभियान’ मा सक्रिय छ। तर, बैंकले मुद्दा नसकिँदै लिलामी प्रक्रिया सुरु गरेपछि उनीहरू निराश छन्।

सरकारी मिलेमतोको आशंका, घोटाला बाहिर

  • सुकलालले माइन्यूटमा आफैंलाई अख्तियारी दिएर श्रीमतीको नाममा सम्पत्ति बिक्री गरेका हुन्।
  • संस्थाका अनुसार यसमा सम्बन्धित सरकारी कर्मचारीहरू पनि संलग्न छन्।

अध्यक्ष अभिशेष भन्छन्:

चार करोडको सम्पत्ति हो, सानो कुरा होइन। हामी एक वर्षदेखि अदालत, प्रहरी धाइरहेका छौं। तर हाम्रो मुद्दा टुंगिन नपाउँदै बैंकले लिलामी प्रक्रिया सुरु गर्‍यो। यस्तो विवादित सम्पत्ति कसले कसरी किन्न सक्छ? अब फेरि हामीलाई अरूसँग पनि मुद्दा लड्नुपर्ने भयो।

Leave a comment