Join our Channel

सप्तरीमा फेरि दलित युवकको रहस्यमय हत्या, सार्वजनिक पोखरी नजिकै घाँटी रेटिएको शव फेला

सप्तरीमा फेरि दलित युवकको रहस्यमय हत्या, सार्वजनिक पोखरी नजिकै घाँटी रेटिएको शव फेला

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–४ पिप्रामा एक दलित युवकको विभत्स हत्या भएको छ। डाक्नेश्वरी नगरपालिका–८ निवासी ३२ वर्षीय राजकुमार खंगको घाँटी रेटिएको अवस्थामा शव बिहीबार बिहान फेला परेको हो।

सार्वजनिक पोखरीको डिलमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनले भने, “हामी बिहान करिब ८ बजेतिर घटनाको सूचना पाएपछि अनुसन्धान सुरु गरेका छौं। अहिले अनुसन्धानमा सहयोगका लागि मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको छ।”

एक किलोमिटर टाढा शव, हत्या कारण अझै अस्पष्ट

घटनास्थल मृतकको घरबाट झण्डै एक किलोमिटर टाढा पर्छ। खंग राति के कारणले त्यहाँ पुगे भन्ने स्पष्ट भइसकेको छैन। शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

अनुसन्धानमा सीआईबीको सक्रियता

घटनाको प्रकृति हेर्दा हत्या योजनाबद्ध देखिन्छ। अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोली समेत खटिएको छ। जिल्ला प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धान तीव्र पारेको छ।

पुरानो घटना अझै अपूरो

यसअघि वैशाख २ गते सुरुङ्गा नगरपालिका–७ की २० वर्षीया पूजा कुमारी रामको शव पनि शंकास्पद अवस्थामा फेला परेको थियो। पोस्टमार्टमपछि उनको पनि हत्या भएको पुष्टि भए पनि हालसम्म हत्यारा पक्राउ परेका छैनन्।

डिएसपी बस्नेतका अनुसार दुबै घटनामा प्रहरी गम्भीर छ। “पुजा हत्या प्रकरण पनि छिट्टै निष्कर्षमा पुर्‍याउनेछौं,” उनले बताए।

Leave a comment