Join our Channel

नेपाललाई हराउँदै त्रिदेशीय सिरिजको च्याम्पियन स्कटल्यान्ड

नेपाललाई हराउँदै त्रिदेशीय सिरिजको च्याम्पियन स्कटल्यान्ड
Getty Images

स्कटल्यान्डले त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ। शुक्रबार ग्लास्गोस्थित टिटउड मैदानमा भएको निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

नेपालले १९४ रनको विशाल लक्ष्य पछ्याउँदै १८.५ ओभरमै १५९ रनमा समेटिन पुग्यो। स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ विकेट लिए भने साफ्यान सरिफले २ विकेट झारे।

नेपालबाट डेब्यु गरेका रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा अविजित ४३ रन बनाए। यस्तै, सबैभन्दा अनुभवी खेलाडी दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडे। कप्तान रोहित पौडेलले २७ रन बनाएका थिए।

नेपालको सुरुवात कमजोर रह्यो। कुशल भूर्तेल (४), भीम सार्की (१२), आसिफ शेख (१४), आरिफ शेख (५), लोकेश बम (५), सन्दीप लामिछाने (०), रिजन ढकाल (५) र ललित राजवंशी (१) रनमै आउट भए।

स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। जर्ज मुन्सीले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७८ रन बनाए भने ब्रान्डन म्याकमुलेनले ४२ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि १०० रनको साझेदारी भएको थियो।

नेपालले यसअघि नेदरल्यान्ड्समाथि शानदार जित हात पार्दै फाइनल पुग्न सफल भएको थियो। तर अन्तिम खेलमा स्कटल्यान्डको सन्तुलित प्रदर्शनअगाडि टिक्न सकेन।

नेपालका लागि कुशल भूर्तेलले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान १–१ विकेट लिएका थिए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ५० रन खर्चे पनि विकेट लिन सकेनन्।

Leave a comment