Join our Channel

संविधानप्रति आस्था राख्दै निर्वाचनको तयारीमा जुट्न नेता शेखर कोइरालाको आग्रह

संविधानप्रति आस्था राख्दै निर्वाचनको तयारीमा जुट्न नेता कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानप्रति आस्था राख्दै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्।

शनिबार विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, “राष्ट्रपतिले संविधान जोगाउन ठुलो सावधानी अपनाएका छन्, अब निर्वाचनमा जानुको विकल्प छैन।”

जेनजी आन्दोलनका क्रममा जलाइएको निवासको निरीक्षणपछि कोइरालाले संविधान लिक बाहिर गएको भए पनि यसको मूल मर्म सुरक्षित रहेको उल्लेख गर्दै निर्वाचनमार्फत संवैधानिक मूल्य–मान्यता जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको बताए।

उनले प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको स्वीकार गर्दै पनि जेनजी आन्दोलनको भावना आत्मसात् गरेर मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिए। साथै, आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरे।

कोइरालाले आगजनीमा जलेको आफ्नो घरलाई “इतिहास जलेको” संज्ञा दिँदै गहिरो दुःख प्रकट गरे।

पार्टी नेतृत्व र आसन्न महाधिवेशनबारे सोधिएको प्रश्नमा उनले आफ्नो अडान यथावत रहेको उल्लेख गर्दै, “उपयुक्त समयमा स्पष्ट धारणा सार्वजनिक गर्नेछु” भने।

Leave a comment