
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा घरायसी विवादका कारण दाजुले आफ्नै भाइको हत्या गरेका छन्।
२२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्वकर्मालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। वडाध्यक्ष अर्जुन लिम्बूका अनुसार, पेटमा खुकुरी लागेको कारण रोशनको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको टोलीले घटनापछि अभियुक्त मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, सोही गाउँपालिका–३ घर भएका चालक हर्कबहादुर दर्लामी मगरले मादक पदार्थ सेवनपछि आफ्नै गाडीका सहचालकमाथि चक्कु प्रहार गरेका छन्। १९ वर्षीय सागर मगरलाई ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित तम्बुचोकमा टाउकामा चक्कु प्रहार गरी घाइते बनाइएको हो।
घाइते सहचालकलाई गाडी धनी पेम्बा शेर्पाको जिम्मामा उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। चालक हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।