
सर्वोच्च अदालतले आइतबारदेखि आफ्नो सेवा पुनः सुरु गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट अदालत भवन ध्वस्त भएपछि अदालत परिसरमा टेन्ट लगाएर सेवा संचालन गरिएको हो।
अदालतले हाल मुद्दा सम्बन्धी जानकारी, रिट दर्ता, बन्दीप्रत्यक्षीकरण, र मुद्दा तारिख दिने सेवा सुरु गरेको छ। इजलास बस्न सक्ने अवस्था नपुगेकोले पुराना मुद्दाको तारिख सार्ने काम क्रमशः भइरहेको सर्वोच्च अदालतले जनाएको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले हाल पूर्णरूपमा काम सुरु गर्न अवस्था सहज नभए पनि क्रमशः काम सुरु हुने बताएका छन्। स्थिति सुधार भएपछि महिला, थुनुवा र राष्ट्रिय महत्वका मुद्दाको सुनुवाइ पनि सुरु हुने उनले उल्लेख गरेका छन्।
अदालत पुगेका अधिवक्ताहरूले अदालतमाथि भएको आक्रमण दु:खद र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। अधिवक्ता ताराप्रसाद अर्यालले भने, “आस्थाको धरोहरमा भएको आक्रमण जायज होइन।” अधिवक्ता कमल कोइरालाले बन्दीप्रत्यक्षीकरण र मुद्दा तारिख दिने सेवा सुरु भएको र अन्य सेवाहरू क्रमशः सुचारु हुने विश्वास व्यक्त गरेका छन्।
सर्वोच्च अदालतका अनुसार देशभरका विरोध प्रदर्शनका क्रममा अदालत भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेजमा ठूलो क्षति पुगेको थियो।