
नेपाली गल्फ खेलको इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशाको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप असार ३ गते सोमबारदेखि काठमाडौंको गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ।
चार दिनसम्म चल्ने यो प्रतियोगिता असार ५ गतेसम्म हुनेछ र यसमा कुल ७२ होलको खेल हुनेछ। सुरुवाती ३६ होलपछि शीर्ष २१ जना प्रोफेसनल खेलाडी र उनीहरूसँग बराबरी स्कोर गरेका एमेच्योर खेलाडीले अन्तिम दुई राउन्ड खेल्ने मौका पाउनेछन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (NPGA) का महासचिव दीपक आचार्यका अनुसार, सूर्य नेपाल गल्फ टुर २०२४–२५ सिजनको यो अन्तिम प्रतियोगिता हो। प्रतियोगितामा ३७ जना प्रो खेलाडी र १८ जना उत्कृष्ट एमेच्योर खेलाडीले १६ लाख रुपैयाँको पुरस्कार राशाका लागि प्रतिस्पर्धा गर्नेछन्।
पुरस्कार विवरण यस्तो छ:
- पहिलो स्थान: रू. ३,००,०००
- दोस्रो स्थान: रू. १,८५,०००
- तेस्रो स्थान: रू. १,२५,०००
- चौथो स्थान: रू. १,०५,०००
- पाँचौं स्थान: रू. ९२,०००
- शीर्ष २१ मा पर्ने सबै खेलाडीलाई नगद पुरस्कार दिइनेछ।
यस सिजनमा तीन उपाधि जित्दै ७ लाख ४२ हजार ५ सय रुपैयाँ पुरस्कार जितेका नीरज तामाङ ‘अर्डर अफ मेरिट’ मा अगाडि छन्। तोरण शाही र भुवन नगरकोटी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
भारतमा प्रोफेसनल गल्फ खेल्दै आएका शुक्रबहादुर राई र सुवास तामाङ पनि यस प्रतियोगितामा सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
एमेच्योर तर्फ:
यो सिजनको उपाधि जितेका सदभाव आचार्य, राहुल विश्वकर्मा र भुटानका शीर्ष खेलाडी निमदोर्जी तामाङले प्रो खेलाडीलाई कडा चुनौती दिने बताइएको छ।
असार ७ मा हुनेछ प्रो–एम प्रतियोगिता
चार दिने प्रतियोगितापछि २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले सहभागिता जनाउने प्रो–एम गल्फ प्रतियोगिता आयोजना गरिनेछ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठका अनुसार, यो प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशासहितको प्रतियोगिता हो। उनले मुख्य प्रायोजक सूर्य नेपाललाई खेल प्रवर्द्धनमा दिएको निरन्तर साथप्रति आभार व्यक्त गर्दै सरकारलाई पनि गल्फ कोर्सहरूमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले भने, “खेलाडीहरू उत्साही छन्, सिजनलाई सफल रूपमा टुंग्याउन उनीहरू तयार छन्।”