
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको रहस्यमय मृत्यु भएको खबरले स्थानीय बासीलाई स्तब्ध पारेको छ।
बुधबार बिहान १४ वर्षीया किशोरी मञ्जु राईको शव गाउँको बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको करिब २०० मिटर तलको जंगलतिर २८ वर्षीय रबिन राईको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए।
स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर खोजतलास गर्दा रबिनको शव पनि भेटिएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले दुबै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धान सुरु गरिएको र घटनाको प्रकृति रहस्यमय रहेको प्रहरीको भनाइ छ।
मृतक मञ्जु राई चौदण्डीगढी–२ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् भने रबिन राई केही दिनअघि मात्र काठमाडौँबाट घर फर्किएका थिए।
घटनाको कारण खुलेको छैन। आत्महत्या वा हत्या भन्ने यकिन भइनसकेको र अनुसन्धानको आधारमा थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ।