Join our Channel

कोलकाता बन्दरगाहमा जीटुजीमार्फत ३० हजार टन युरिया मल आइपुग्यो, एक सातामा वीरगन्ज हुँदै भित्र्याइनेछ

कोलकाता बन्दरगाहमा जीटुजीमार्फत ३० हजार टन युरिया मल आइपुग्यो, एक सातामा वीरगन्ज हुँदै भित्र्याइनेछ

आगामी बर्खे धान रोपाइँको सिजनलाई लक्षित गर्दै सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत ल्याउने ३० हजार टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।

हाल उक्त मललाई बोरामा प्याकिङ गर्ने कार्य भइरहेको छ र एक साताभित्रै वीरगन्ज नाका हुँदै नेपाल भित्र्याइने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार, “कोलकाताबाट मल ल्याउने रेलवे र्‍याक तीन दिनभित्र वीरगन्ज आइपुग्नेछ। मल प्याकिङ प्रक्रियामा रहेकाले छिट्टै नेपाल भित्र्याइनेछ।”

उक्त युरिया मल भारत सरकारबाट प्राप्त स्वीकृतिअनुसार आदित्य बिरला ग्रुप अन्तर्गतको कम्पनीले आपूर्ति गर्दैछ।

यसअघि नै उक्त कम्पनीले ल्याएको ३० हजार टन युरियामध्ये दोस्रो र्‍याक बुधबार वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको छ। पाण्डेले बताए अनुसार, “पहिलो र्‍याक रक्सौलमा आएको थियो, दोस्रो सिर्सिया बन्दरगाहमा आइपुगेको हो। एक र्‍याकले करिब २५०० टन युरिया बोक्छ।”

हालको आपूर्तिमा करिब १६ हजार टन युरिया मल मात्र तत्काल नेपाल भित्र्याइँदैछ। बाँकी युरिया अर्को जहाजमार्फत क्रमशः ल्याइने पाण्डेले जानकारी दिए।

सन इन्टरनेसनल कम्पनीले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन दुवैको लागि युरिया मल आपूर्ति गरिरहेको छ। हाल कतारबाट आएको जहाजमा ३५ हजार टन युरिया रहेको र त्यसअनुसार दुबै संस्थानले १६-१६ हजार टन बराबरको युरिया पाउनेछन्।

प्राप्त युरियामध्ये ६,७०० टन वीरगन्ज कार्यालयलाई प्रदान गरिनेछ भने बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयमा वितरण गरिनेछ।

प्रमुख पाण्डेले निरन्तर युरिया मल आपूर्ति भइरहेको र ‘जीटुजी’ प्रक्रिया प्रभावकारी बन्दै गएको उल्लेख गर्दै आगामी बर्खे सिजनमा युरिया अभाव नहुनेमा आशावादी रहेको बताए।

Leave a comment