Join our Channel

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न व्यवसायीहरूको अपिल

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न व्यवसायीहरूको अपिल

नेपालमा उत्पादन भएको केराले नै आगामी दसैँ, तिहार र छठजस्ता चाडपर्वको माग धान्न सक्ने भएकाले आयात नगर्न व्यवसायीहरूले सार्वजनिक अपिल गरेका छन्।

नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तका अनुसार अहिले नेपालमा केरा उत्पादन उत्साहजनक भएको र चाडपर्वसम्मको आवश्यकतापूर्तिका लागि पर्याप्त भएकोले आयात रोक्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको हो।

महासङ्घले पत्राचारमार्फत आयात नगर्न आग्रह गर्दै, नेपालमै उत्पादन पर्याप्त हुँदाहुँदै पनि विदेशी केरा आयात भइरहेकाले यसले नेपाली किसान विस्थापित हुने खतरा रहेको जनाएको छ। आयातले रोजगार, वैदेशिक व्यापार घाटा र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनीसमेत दिइएको छ।

अनुरोधपत्रमा भनिएको छ, “यदि यही असोज ६ गतेपछि पनि जबर्जस्ती भारतबाट केरा आयात गरिएमा त्यसबाट हुने सम्भावित क्षतिको जिम्मेवारी महासङ्घले नलिनेछ।”

यसै सन्दर्भमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी तत्काल आयात रोक्न माग गरेका छन्। विज्ञप्तिमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीलगायतका किसान प्रतिनिधिहरूको हस्ताक्षर छ।

Leave a comment